दाङ । लुम्बिनी प्रदेश सरकारले द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन तथा जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधिसहित विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिनुभयो।
बैठकले आर्थिक वर्ष २०८२/८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन र प्रदेश सरकार तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
त्यसैगरी, प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८३ पारित गर्ने निर्णय भएको छ। निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने थप छलफलका लागि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाइएको छ।
बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नीता पोख्रेल अर्याललाई तोक्ने निर्णय गरेको छ। पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्रशासन अधिकृत माधव शर्मालाई दिइएको छ।
यसैगरी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. कृष्णहरि सुवेदी र सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका (देउखुरी) मा कार्यरत सहसचिव दिवाकर भण्डारीको अनिवार्य अवकाश स्वीकृत गरिएको छ।
अस्पतालमै कार्यरत डा. प्रताप पोखरेलको स्वेच्छिक राजीनामासमेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
















































