कपिलवस्तु नगरपालिका–२ तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयका ५६ विद्यार्थी र उनीहरूका ४७ जना अभिभावकलाई शैक्षिक सामग्री, पोसाक तथा खाद्यान्न वितरण गरिएको छ ।
बुद्धिस्ट चुजी च्यारिटी फाउण्डेसनको सहकार्यमा राइट टु एक्सन नेपाल (र्यान) ले कपिलवस्तु नगरपालिकाको समन्वयमा विद्यालयमा कार्यक्रम आयोजना गरी उक्त सामग्री वितरण गरेको हो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अब्दुल हकिम पखिया, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठ, विद्यालयकी प्रधानाध्यापक गोमा घिमिरे, र्यानका प्रतिनिधि युवराज देवकोटा र विनोद पौडेल, समाजसेवी राजेश ज्ञवाली तथा सुरेन्द्रराज लम्साललगायतले विद्यार्थी र अभिभावकलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
विद्यार्थीलाई जुत्ता, मोजा, स्विटर, टोपी, सर्ट, पाइन्टसहित कापी, पेन्सिल, स्केल, क्लिपबोर्ड र कलर बक्स वितरण गरिएको थियो । त्यसैगरी, विद्यार्थीका ४७ जना अभिभावकलाई प्रतिपरिवार २५ किलो चामल र एक लिटर खानेतेल प्रदान गरिएको थियो ।
विद्यार्थीको शैक्षिक अवस्थामा सुधार ल्याउन र उनीहरूको मनोबल बढाउन शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको र्यानका प्रतिनिधि विनोद पौडेलले बताउनुभयो । उहाँका अनुसार संस्थाले नगरपालिकाभित्रका छ विद्यालयका ३९० विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा गरिएको सहयोगले विद्यार्थीलाई शिक्षाप्रति उत्प्रेरित गर्न र नियमित पठनपाठनमा सहयोग पुग्ने प्रधानाध्यापक गोमा घिमिरेले बताउनुभयो ।
नगरप्रमुख सुदीप पौडेलले शिक्षाको गुणस्तर सुधार र बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुभयो । नगरपालिकाले शिक्षालाई प्राथमिकता दिँदै निःशुल्क शिक्षाको कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले नगरपालिकाले स्वास्थ्य बिमाको योगदान रकममा ५० प्रतिशत सहलगानी गर्दै आएको उल्लेख गर्दै नगरवासीलाई स्वास्थ्य बिमा सेवाको उपयोग गरी एक लाख रुपैयाँसम्मको उपचार सुविधा लिन आग्रह गर्नुभयो ।
सो अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याएका पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो ।
















































