काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ।
खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरहरुको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए। उनका अनुसार १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको पनि आजै नतिजा सार्वजनिक हुनेछ। अब गन्न बाँकी रहेको मतको गणना आज बिहान १० बजेदेखि सुरु गरिने रावलले बताए।
कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो। पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ।
मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाएको छ । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ।