काठमाडौँ । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक संयन्त्र बनाउने भएको छ । यसको निष्कर्ष बिहीबार बसेको राजनीतिक समन्वय समितिकाे बैठकले निकालेको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा पाँचदलीय संयन्त्र बनाउने निर्णय भएको छ,’ समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन् ।
बैठकले सातै प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरूलाई निर्वाचित गराउन आग्रहसमेत गरेकाे छ । कार्कीकाअनुसार माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत संयन्त्रले नै प्रचार र परिचालनको काम गर्नेछ ।
संयन्त्रमा सबै पार्टीको प्रदेश समितिको अध्यक्ष/सभापति र आवश्यकताअनुसार अन्य नेता रहनेछन् । राष्ट्रिय सभाको १९ सीटका लागि हुने निर्वाचनमा कांग्रेसले ६, माओवादीले ५, एकीकृत समाजवादीले ५, जनता समाजवादीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाउनेगरी चुनावी तालमेल भएको छ ।