साझा न्यूज । तौलिहवा
नेपाली कांग्रेसका स्थानीय नेता तथा कपिलवस्तु नगरपालिका वडा नं. ५ का सदस्य राम फेरन कुर्मीको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तु नगर समितिले गहिरो दुख व्यक्त गरेको छ ।
स्थानीय स्तरमा लोकप्रिय तथा समाजसेवीको रुपमा रहेका नेता कुर्मीको निधनबाट स्थानीय स्तरमा नेपाली कांग्रेस पार्टी संगठनलाई ठुलो क्षति पुगेको नेपाली कांग्रेस कपिलवस्तु नगर समितिका सभापति खुर्सेद अहमद खांले बताए ।
स्वर्गीय नेता कुर्मीको पार्थिव शरीरमा नेपाली कांग्रेसका नगर सभापति रउफ अहमद खां, वडा नं. ५ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता दिरेप चौधरी लगायतका नेताहरुले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् ।
वडा विकासको हरेक गतिविधीमा स्वर्गीय नेता कुर्मी सक्रिय भई खट्ने नेताको रुपमा रहेको वडा अध्यक्ष दिरेप चौधरीले बताए । उनको निधन प्रति सम्पूर्ण वडा समितिमा गहिरो चोट परेको छ, वडा अध्यक्ष चौधरीले भने । स्वर्गीय नेता कुर्मीको निधन प्रति नेपाली कांग्रेस जिल्ला कार्य समितिले पनि शोक समवेदना व्यक्त गरेको छ । जिल्ला सभापति अब्दुल कलाम खांले मृत आत्माका चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।
कपिलवस्तु नगरपालिकाले पनि शोक समवेदना प्रकट गर्दै आईतवार कपिलवस्तु नगरपालिका कार्यालय र सवै वडा कार्यालयहरुमा शोक विदा गरिएको थियो । नेता कुर्मीको शनिवार उपचारका क्रमममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको थियो । नेता कुर्मी मुटु रोगका विरामी थिए ।
















































