काठमाडौँ । शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह फेरि हिंसात्मक गतिविधिमा सक्रिय भएको छ । बुधबार (हिजो) देशका दुई स्थानमा भएका विस्फोट र एक स्थानमा भएको तोडफोडमा विप्लव समूहको संलग्नता भेटिएको हो ।
विप्लव समूहले यही मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । निर्वाचनलाई प्रभावित पार्न सो समूहले हिंसात्मक बाटो समातेको हो ।बुधबार भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको थियो । पौवादुङमा गाउँपालिका–२, तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी हुने तय थियो । विस्फोटमा एक जना घाइते भएका थिए ।
यस्तै, बुधवारै चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड गरिएको थियो ।बुधवारै चितवनको भरतपुरमा बिहान पार्किङमा राखिएको बा३च २०५० नम्बरको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले घटना विप्लव समूहबाट भएको दाबी गरेको छ ।
बुधवारै साँझ बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको विस्फोटमा परी विप्लव समूहकै दुई कार्यकर्ता घाइते भएका थिए ।
प्रहरी टोली घटनास्थल पुग्दा प्रेसरकुकर बम विस्फोट भएको थियो । प्रहरीले घटनास्थलबाट विप्लव समूहका केही दस्ताबेज समेत बरामद गरेको छ ।विस्फोट र हिंसात्मक घटना बढेपछि सुरक्षा सतर्कता बढाइएको र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल बताउँछन् ।
प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले विस्फोटलगायत घटनाले गम्भीर बनाएको बताए । उनले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने उल्लेख गरे ।अब आपराधिक समूहविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने डिआइजी राईको भनाई छ । विधान र कानुनविपरीतका गतिविधि नसहने भन्दै डिआइजी राईले मातहतका सबै कार्यालयलाई आवश्यक निर्देशन दिएको बताए ।
०७७ फागुनमा विप्लव समूहले हिंसा छाडेको घोषणा गरेको थियो । सो समूहले सरकारसँग विभिन्न तीनबुँदे सहमति गरेको थियो । शान्तिपूर्ण राजनीतिमा आएको बताइए विप्लव समूहले सरकारलाई हतियार बुझाएको थिएन ।