भारतमा जारी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।
पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेलेका थिए।
त्यसपछि रहमत शाहले ७७ रन र कप्तान हस्मतुल्लाह शाहिदीले ४८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । ठुला टोलीविरुद्ध अफगानिस्तानले यो प्रतियोगितामा हासिल गरेको यो दोस्रो जीत हो । यसअघि इंग्ल्याण्ड अफगानिस्तानसँग स्तब्ध बनेको थियो । यता पाकिस्तानले भने सुरुवाती दुई खेल जिते यता लगातार तेस्रो हार बेहोर्न बाध्य बनेको छ ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । टोलीका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाएका थिए । उनले ९२ बलमा ४ चौका र एक छक्का लगाएका हुन।
त्यस्तै, ओपनर अब्दुल्लाह सफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन बनाए । अफगानिस्तानका लागि युवा खेलाडी नूर अहमदले ३ विकेट लिए भने नवीन उल हकले २ विकेट लिएका थिए ।