–बबिता गिरी, तौलिहवा
एसियाकै सबै भन्दा ठुलो शिवलिङ्गको रुपमा मानिने कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित तौलेश्वरनाथ शिवालय मन्दिरमा आज भक्तजनहरुको घुइँचो लगेको छ ।
बोलबम कावर जलयात्रा सुरु भए संगै आज श्रावण महिनाको चौथो सोमबार पनि भक्तजनहरुको भिड लगेको हो । यस तौलेश्वरनाथ शिवालय मन्दिरमा बिगतका बर्षहरुमा साउने सोमबारका दिन मात्र करिब करिब डेढ लाख भक्तजनले दर्शन गर्थे भने अहिले कोभिड- १९ का कारण दर्शनार्थी कम आएको अनुमान गरिएको छ ।
कोभिड- १९ का कारण मन्दिर भित्र प्रवेश निषेध भएता पनि श्रद्धालुहरुले मन्दिर बाहिरै भए पनि पुजा आराधना गरेका छन। हिन्दु धर्मावलम्बीहरुको आस्था बोकेको यस मन्दिरमा शुद्ध आत्माले पुजा आराधना गर्नेहरुको मनोकामना पूरा हुने बिश्वास रहेको छ ।
शिवरात्री, साउने सोमबार तथा अन्य चार्डपर्वमा स्थानीय मात्र नभई भारतका विभिन्न ठाँउबाट पनि ठुलो संख्यामा भक्तजनहरु आउने गरेकोमा अहिले कोरोनाले गर्दा भारतबाट धेरै संख्यामा आउन नपाएको कुरा मंदिरका पुजारी वताउछन ।
श्रावणमा महिना भरि शिव मन्दिरमा जलार्पण गर्नाले जान-अन्जानमा भएको सम्पुर्ण पाप नाश भई पुण्य प्राप्त हुनेमा भक्तजनको बिश्वास रहेको छ।

















































