काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिएपछि पहिलोपटक प्रतिनिधिसभा संसदमा सम्बोधन गर्ने भएका छन्।
दिउँसो एक बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेको ओलीले आज सम्बोधन गर्नको निम्ती विशेष समय माग गरेका हुन् ।
दोस्रो पटक संसद पुनःस्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षमा भोट हाल्न संसदमा उपस्थित भएका थिए। त्यसपछि बसेका बैठकमा ओली उपस्थित भएनन्।
संसदले प्रधानमन्त्रीलाई बधाई दिने बैठकमा पनि उनी उपस्थित भएका थिएनन्। देउवालाई बधाई दिन ओलीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका थिए।
प्रधानमन्त्रीलाई बधाई दिन विपक्षी दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने संसदीय परम्परा छ। तर उक्त परम्परा ओलीले तोडेपछि देउवाले कस्तो संस्कार देखाएको भन्दै ओलीप्रति कटाक्ष गरेका थिए। नेम्वाङ पनि सुरुमै आफ्ना कुरा राखेर हिँडेपछि देउवाले उनीप्रति समेत कटाक्ष गरेका थिए।
यस्तै आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्वेत पत्र प्रस्तुत गर्ने भएका छन्। मुलुकको वर्तमान अर्थतन्त्रका बारे देश र जनतालाई जानकारी दिन अर्थमन्त्रीले समय माग गरेका हुन्।
















































