काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । चीनको सेनजेनमा जण्डिसको उपचार गराइरहेको पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाइएको छ । स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच भेटवार्ता गरेका छन् । उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको जनाइएको छ । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको चिनियाँ कम्युनिष्ट पार्टीले पनलाई भेटेर शुभकामना समेत दिएको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र सवैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा चेन झाओले बताएको जनाइएको छ ।
नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुकाबीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो पुनसँग चासो राखेका थिए । चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए । विगतमा एमाले अध्यक्ष केपी ओलीको संविधान विरोधी, पार्टीको विधान र सहकार्यको भावना विरोधी गतिविधिका कारण नेकपा एकताले निरन्तरता पाउने नसकेको र अहिले पनि ओलीकै कारण एमालेसँग सहकार्य संभव नभएको बताएका नेता पुनले ओली गुणात्मक रुपमा रुपान्तरण भएर आएमा सहकार्यका लागि छलफल गर्न सकिने बताएका थिए ।
अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने र त्यस पछि पनि सहकार्य गर्न तयार रहेको बताएका नेता पुनले चिनियाँ पक्षको एमसीसी परियोजनाबारेको जिज्ञासाकोसमेत जवाफ दिएका थिए । एमसीसीबारे नेपालमा बहस चलिरहेको र गठवन्धनलेसमेत अध्ययनका लागि कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुनेगरी मित्र राष्ट्रहरुको सहयोग स्वीकार गर्ने नेपालको नीति अनुरुप सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए । सुरुमा बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि पुन चीन पुगेका हुन् । उपचार जारी रहेकै कारण उनी पार्टीको महाधिवेशनमा पनि सहभागी भएका छैनन् ।
















































