कपिलवस्तु । कार्तिक १२ आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले संगठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिएको छ। पार्टीले आज महाराजगञ्ज नगरपालिका र यशोधरा गाउँपालिकामा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ।
कपिलवस्तु क्षेत्र नम्बर २ का संघीय सांसद विक्रम सिंह थापाले महाराजगञ्जको गैडहवा चोक र यशोधरा गाउँपालिकाको मुडिला चोकमा स्थापित सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटन कार्यक्रममा सांसद थापाले आगामी स्थानीय तहको निर्वाचनमा कपिलवस्तुका १० वटै पालिकामा रास्वपाका जनप्रतिनिधि निर्वाचित गराउने लक्ष्यसहित आफूहरू अघि बढेको बताउनुभयो। मेयर, उपमेयरदेखि वडा अध्यक्ष र सदस्यसम्म पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने उहाँको दाबी थियो।
पार्टीप्रति जनताको आकर्षण बढिरहेको उल्लेख गर्दै थापाले जेनजी पुस्तादेखि अभिभावकसम्मको समर्थन आफूहरूलाई प्राप्त भइरहेको बताउनुभयो। महाराजगञ्ज नगरपालिकामा रास्वपाको जित सुनिश्चित गर्ने गरी वातावरण बनिरहेको दाबी गर्दै उहाँले जनताको विश्वासलाई मतमा परिणत गर्ने लक्ष्य रहेको बताउनुभयो।
सांसद थापाले यशोधरा र महाराजगञ्जमा परिवारवादको राजनीतिलाई अन्त्य गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी शासनको अनुभूति जनतालाई गराउनु आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा यशोधरा गाउँपालिका सभापति धीरेन्द्रकुमार चौधरीले संसदीय बजेट अन्तर्गत विकास निर्माणका योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँका अनुसार यशोधरा र महाराजगञ्जलाई जोड्ने बाणगंगा नदीमा पुल निर्माणका लागि बजेट विनियोजन भइसकेको छ भने टेन्डर प्रक्रिया अघि बढेको छ। उहाँले वर्गदवा, भावपुर, रंगपुर, सेमरहवा हुँदै कोदोहाँसम्मको सडकलाई रिङरोडका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
कार्यक्रममा जिल्ला सभापति शिवकुमार सुवेदी, कोषाध्यक्ष मोहन शर्मा, सहसचिव देवेन्द्र शर्मा, युवा नेता मिर्जा राशिद बेग, जिल्ला सदस्य मोहम्मद हई मुसलमान, महाराजगञ्ज नगर सभापति ओमकारनाथ शुक्ल, कपिलवस्तु नगरपालिका सभापति रामु रेग्मी उपसभापति दिनेश हमाल, क्षेत्रीय सभापति माधव पराजुली, क्षेत्रीय सचिव गयादिन कुर्मी सन्तोष कसौधन, रामचन्द्र मौरिया, समिम मुसलमान लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
सम्पर्क कार्यालय उद्घाटनसँगै स्थानीय कार्यकर्ताहरूले आफ्ना पालिकामा नागरिकले भोगिरहेका समस्या, विकास निर्माण र पूर्वाधारका विषय सांसद थापासमक्ष राखेका थिए। पार्टीले सम्पर्क कार्यालयमार्फत स्थानीय जनतासँगको सम्बन्ध विस्तार गर्दै उनीहरूका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
















































