कार्तिक १९, कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। गत कार्तिक १८ गते कपिलवस्तु नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा आयोजित जनतासँग भेटघाट, अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा ५०० भन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेको पार्टीले जनाएको छ।
कपिलवस्तु नगरपालिका–७ दोहनीमा आयोजित कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विक्रम सिंह थापाको प्रमुख आतिथ्यता रहेको थियो। विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गरेका नवप्रवेशीहरूलाई सांसद थापासहित पार्टीका नेताहरूले खादा ओढाएर स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले प्रहरी सेवामा रहँदा प्राप्त गरेको अनुभवलाई जनताको सेवामा उपयोग गर्ने बताउनुभयो। उहाँले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै नागरिकका समस्या समाधान तथा अधिकार संरक्षणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय नागरिकसँग विकास निर्माण, सुशासन र जनताका समस्याबारे अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा जिल्ला सभापति शिवकुमार सुवेदी, उपसभापति रामनिवास पुरी, सचिव यमलाल आचार्य, कोषाध्यक्ष मोहन शर्मा, विभिन्न पालिका सभापति तथा जिल्ला र क्षेत्रीय तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम वडा नम्बर ७ का सभापति शत्रुहनबनियाको सभापतित्वमा सम्पन्न भएको थियो भने नगर सचिव सन्तोष कशाेधनले सञ्चालन गर्नुभएको थियो।
रमेश मिश्र साझा न्युज















































