साझा न्यूज । तौलिहवा
नेपाली कांग्रेसका युवा नेता दिनेश हमालले दिएको राजीनामा नेपाली कांग्रेस जिल्ला कार्य समितिले अस्वीकार गरेको छ । नेता हमालले आफ्नो व्यक्तिगत व्यस्तता र कारण देखाई साधारण सदस्य समेत नरहने गरी दिएको राजीनामा दिएका थिए ।
पार्टी सभापति अब्दुल कलाम खांले उनको राजीनामा अस्वीकार गरी नेपाली कांग्रेसमा युवाहरुको ठुलो भूमिका रहेको भन्दै युवाहरु एक भई अघि बढ्न नेता हमाललाई आग्रह गरेको जिल्ला सहसचिव वजीह अरसदले बताए ।
नेपाली कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री तथा प्रतिनिधी सभा क्षेत्र नं. २ का उम्मेदवार सुरेन्द्र राज आचार्य, प्रदेश सभा २ क का उम्मेदवार विक्रम सिंह थापा, प्रदेश सभा २ ख का उम्मेदवार सुधाकर पाण्डेय, राजु प्रसाद अर्याल लगायतका नेताहरुले युवा नेता हमालको असन्तुष्टिलाई सन्दै आगामी दिनमा युवाहरुलाई पार्टीमा उचित स्थान दिएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेता हमालले जिल्ला सहसचिव वजीह अरसदलाई आईतवार सांझ आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
युवा नेता हमालले राजीनामा पत्र बुझाए लगत्तै कपिलवस्तु कांग्रेसका शीर्ष नेताहरु हमालको घरमै पुगी उनलाई पार्टीमै रहन आग्रह गरेका थिए । पार्टी शिर्ष नेताहरुको आग्रहका कारण आफुले विना शर्त राजीनामा फिर्ता लिएको नेता हमालले बताए ।
नेता हमालले आफ्नो आग्रह स्वीकार गरिदिएकोमा नेता अब्दुल कलाम, सुरेन्द्र राज आचार्य, सुधाकर पाण्डेय, विक्रम सिंह थापा लगायले उनि प्रति आभार समेत व्यक्त गरेका छन् ।
















































